नेपालको लगातार दोस्रो जित

काठमाडौं। नेपालले एसीसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ।
बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकालेको हो। योसँगै नेपालले दुई खेलबाट ४ अंक पुर्याउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाउँदै पूरा गर्यो।
नेपालका अर्जुन कुमालले अविजित ४५ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे। इशान पाण्डेले २९ बलमा २० रन बनाए भने रोहितकुमार पौडेलले १६ बलमा १० रन जोडे।
दीपेन्द्रसिंह ऐरीले ११ बलमा १२ रन बनाएर अर्जुनसँगै अविजित रहे। मलेसियाका सैयद अजिज, अरिफ उल्लाह, विरन्दीप सिंह र प्रशान्त मधुकरले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो।
मलेसियाका कप्तान सैयद अजिजले ४९ बलमा सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४ तथा विरन्दीप सिंहले १४ रन जोडे।
नेपालका करणले सर्वाधिक ४ विकेट लिए। ७.३ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए। ललितनारायण राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए।












