पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

काठमाडौं। भारतले पानामा, पाँच पटकको विश्वकप विजेता ब्राजिल र दुई पटकको विश्वकप विजेता उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक खालिद जमिलले टोली घोषणा गरेका हुन्।
टोलीमा मोहन बागान र इस्ट बंगालबाट समान चार–चार खेलाडी गरी कुल आठ खेलाडी परेका छन्। तर‚ डुरान्ड कपमा उत्कृष्ट गोलरक्षकको पुरस्कार जितेका मोहन बागानका विशाल कैथलाई भने टोलीमा समावेश गरिएको छैन।
इस्ट बंगालबाट गोलरक्षक प्रभसुखन गिल, डिफेन्डर अनवर अली र जय गुप्ता तथा स्ट्राइकर एडमन्ड लालरिन्डिका टोलीमा छन्। मोहन बागानबाट मिडफिल्डर अनिरुद्ध थापा, अपुइया र सहाल अब्दुल समद तथा स्ट्राइकर मनवीर सिंह छनोट भएका छन्।
भारतले व्यस्त अन्तर्राष्ट्रिय कार्यक्रमको सुरुआत पानामाविरुद्धको खेलबाट गर्नेछ। सेप्टेम्बर २६ मा बेंगलुरुको श्रीकान्तिराभा रंगशालामा भारत र पानामा भिड्नेछन्। त्यसअघि सेप्टेम्बर १४ देखि भारतीय राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प सुरु हुनेछ।
पानामाविरुद्धको खेलपछि भारत कोलकाता फर्किनेछ। त्यसपछि युवभारती रंगशालामा अक्टोबर ३ मा ब्राजिल र अक्टोबर ६ मा उरुग्वेविरुद्ध भारतले खेल्नेछ।
भारतको २६ सदस्यीय टोली
गोलरक्षक: अल्बिनो गोम्स, गुरप्रीत सिंह सन्धु, प्रभसुखन गिल, सोम कुनार।
डिफेन्डर: अभिषेक सिंह थेकचाम, आकाश मिश्रा, अनवर अली, विजय वर्गेस, मिंगथानमावैया राल्टे, जय गुप्ता, परमवीर, रिक्की मितेई।
मिडफिल्डर: अनिरुद्ध थापा, आशिक कुरुनियन, फारुख चौधरी, अपुइया, म्याकार्टन निक्सन, मोहम्मद सनान, रिक्की शाबोङ, सहाल अब्दुल समद।
फरवार्ड: एडमन्ड लालरिन्डिका, इरफान यदवाड, मनवीर सिंह, रहिम अली, रायन विलियम्स, विक्रम प्रताप सिंह।












