रुडिगरले लिए सन्न्यास

काठमाडौं। जर्मनीका अनुभवी डिफेन्डर एन्टोनियो रुडिगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३३ वर्षको उमेरमा उनले जर्मनीको राष्ट्रिय टोलीबाट अब नखेल्ने निर्णय गरेका हुन्।
रुडिगरले सन् २०१४ मा जर्मनीको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। त्यसयता १२ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले जर्मनीका लागि ८६ खेल खेलेका छन्। यस क्रममा उनले तीन गोल गरेका छन्।
रुडिगरले जर्मनीका लागि ६ वटा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए। उनी सन् २०१७ मा जर्मनीले फिफा कन्फेडेरेसन कप जित्दा टोलीका सदस्यसमेत थिए।
रुडिगरले आफूले लामो समय सोचविचार गरेपछि सन्न्यास लिने निर्णयमा पुगेको बताएका छन्। ‘मैले यसबारे धेरै सोचें। अब राष्ट्रिय टोलीमा आफ्नो करिअर समाप्त गरेर युवा खेलाडीहरूका लागि ठाउँ बनाउने समय आएको छ,’ उनले आफ्नो विदाइ सन्देशमा भनेका छन्।
उनले सन् २०१४ मा पहिलोपटक जर्मनीको जर्सी लगाउँदा आफ्नो अन्तर्राष्ट्रिय करिअर यति लामो हुने र ८६ खेल खेल्ने कल्पनासमेत नगरेको बताए। ‘सन् २०१४ मा पहिलोपटक जर्मनीको जर्सी लगाउँदा मैले कहिल्यै सोचेको थिइनँ कि एक दिन ८६ अन्तर्राष्ट्रिय खेल खेल्नेछु,’ उनले भने।
राष्ट्रिय टोलीसँगको यात्रा समाप्त गरे पनि रुडिगरले आफ्नो खेल करिअरलाई भने निरन्तरता दिनेछन्। अब उनको सम्पूर्ण ध्यान क्लब फुटबलमा केन्द्रित हुनेछ।
‘अब मेरो जीवनको नयाँ अध्याय सुरु हुँदैछ। अब म पूर्ण रूपमा क्लब फुटबलमा ध्यान केन्द्रित गर्नेछु,’ रुडिगरले बताएका छन्।









-1788270833407.jpeg&w=3840&q=75)


