दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

काठमाडौं। दक्षिण कोरियाको पुरुष राष्ट्रिय फुटबल टोलीले पछिल्लो समय भोगेको उथलपुथलपछि रोबर्ट मोरेनोलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
कोरिया फुटबल एसोसिएसन (केएफए) ले मंगलबार मोरेनोले सेप्टेम्बर र नोभेम्बरका फिफा विन्डोमा हुने ६ खेलमा टोलीको जिम्मेवारी सम्हाल्ने जनाएको छ। साथै, उनको सम्झौता जनवरीमा हुने २०२७ एसियन कपसम्म विस्तार हुन सक्ने संकेत पनि केएफएले गरेको छ।
केएफए राष्ट्रिय टोली समितिका प्रमुख ह्युन योङ–मिनले भने,‘मोरेनोले कोरियाली फुटबलबारे गहिरो बुझाइ र विभिन्न रणनीतिक विकल्प प्रस्तुत गर्न सक्ने क्षमता देखाएर हामीलाई प्रभावित पारे। उहाँ र उहाँको नयाँ प्रशिक्षक टोलीले हाम्रो राष्ट्रिय टोलीको प्रदर्शन सुधार्न सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं।’
मोरेनोले सन् २०१९ मा स्पेनको राष्ट्रिय टोली सम्हालेका थिए। त्यसपछि उनले एएस मोनाको, ग्रानाडा र पछिल्लो समय रुसी क्लब सोचिमा प्रशिक्षकको जिम्मेवारी सम्हाले। सोचिसँगको उनको कार्यकाल गत वर्ष अगस्टमा समाप्त भएको थियो।
केएफएका अनुसार मोरेनोको मुख्य जिम्मेवारीमध्ये एक राष्ट्रिय टोलीको माहोल परिवर्तन गर्नु हुनेछ। दक्षिण कोरिया २०२६ को विश्वकपको समूह चरणबाट बाहिरिएपछि हङ म्योङ–बोले जुनको अन्त्यमा राजीनामा दिएयता मुख्य प्रशिक्षकको पद रिक्त थियो।
हङलाई सन् २०२४ मा प्रशिक्षक नियुक्त गरिएको विषयमा सार्वजनिक असन्तुष्टि समरमा झन् बढेको थियो। त्यसपछि हङसँगै तत्कालीन केएफए अध्यक्ष चुङ मोङ–ग्युले पनि पदबाट राजीनामा दिएका थिए। दुवै जनासँग जुलाईमा संसदीय सुनुवाइका क्रममा सोधपुछ गरिएको थियो।
मोरेनोको पहिलो खेल सेप्टेम्बर २४ मा राजधानी सोलको दक्षिणमा रहेको सुवनमा इक्वेडरविरुद्ध हुनेछ।









-1788270833407.jpeg&w=3840&q=75)


