अञ्जिलाले बाढीपीडितलाई दिइन् ४० हजार ४४४ रुपैयाँ

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले हालैको बाढी तथा पहिरोबाट प्रभावितका लागि ४० हजार ४४४ रुपैयाँ सहयोग गरेकी छन्।
उनले आफ्नी आमाको जन्मदिनको अवसर पारेर आमा र आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
अञ्जिलाले मैदानमा जितका लागि खेलिने भए पनि वास्तविक जीवनको जित समाज र मानिसको अनुहारमा मुस्कान ल्याउनुमा हुने बताएकी छन्।
‘हालै नेपालमा आएको भीषण बाढी र पहिरोले हाम्रा धेरै दाजुभाइ, दीदीबहिनीहरूलाई ठूलो विपत्तिमा पारेको छ। त्यसैले आमाको यो विशेष दिनलाई अझ अर्थपूर्ण बनाउन हामीले आमा र मेरो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० हजार ४४४ सहयोग हस्तान्तरण गरेका छौं,’ उनले लेखेकी छन्।
उनले विपत्तिमा परेकाहरूलाई आफ्नो सानो प्रयासबाट केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उल्लेख गरेकी छन्। साथै, आमाको संस्कार र आशीर्वादले आफूलाई सधैं मार्गदर्शन गरिरहोस् भन्दै जन्मदिनको शुभकामनासमेत दिएकी छन्।











-1788270833407.jpeg&w=3840&q=75)

