चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

काठमाडौं। युक्रेनका फरवार्ड मिखाइलो मुड्रिक मंगलबार प्रिमियर लिगकै प्रतिद्वन्द्वी चेल्सीबाट एक सिजनका लागि लोनमा टोटनह्याम हट्सपरमा आबद्ध भएका छन्।
२५ वर्षीय मुड्रिकलाई प्रतिबन्धित पदार्थ सेवनसम्बन्धी कारबाहीपछि मैदान फर्कन अनुमति दिइएको थियो। त्यसको एक महिनाभन्दा केही बढी समयमै नयाँ क्लबमा स्थानान्तरण गरिएको हो।
‘यो निकै राम्रो अनुभूति हो। म प्रशिक्षणमा सहभागी भएर क्लबका लागि खेल्न सुरु गर्न आतुर छु। रोबर्टो डे जर्बीसँग पुनः काम गर्न पाउँदा म निकै उत्साहित छु,’ मुड्रिकले टोटनह्यामको वेबसाइटसँग भनेका छन्।
‘म गति र सिर्जनात्मकता ल्याउने खेलाडी हुँ। आक्रमण र रक्षात्मक दुवै क्षेत्रमा टोलीलाई सहयोग गर्न चाहन्छु। समर्थकलाई उत्साहित बनाउनु मेरो चाहना हो,’ उनले भने।
उत्तरी लन्डनको क्लब टोटनह्याममा मुड्रिकसँगै सेन्टर डिफेन्डर तोसिन अदाराबियोयो पनि चेल्सीबाट आबद्ध भएका छन्। ट्रान्सफरको समयसीमा सकिनुअघि भएको उनको स्थानान्तरणका लागि टोटनह्यामले ७ मिलियन पाउन्ड तिरेको बताइएको छ।
मुड्रिक जनवरी २०२३ मा शाख्तर डोनेत्स्कबाट चेल्सी पुगेका थिए। तर‚ चेल्सीमा अपेक्षाअनुसार प्रभाव पार्न संघर्ष गरिरहेका बेला सन् २०२४ मा भएको एन्टी–डोपिङ परीक्षणमा मेल्डोनियमको प्रतिकूल विश्लेषणात्मक नतिजा आएपछि उनको करिअर रोकिएको थियो।
फुटबल एसोसिएसनले उनलाई चार वर्षको प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध मुड्रिकले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा अपिल गरे। त्यसपछि फुटबल एसोसिएसन र विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) को सहमतिमा उनको प्रतिबन्ध घटाइएको थियो।
यस समर ट्रान्सफर विन्डोमा करिब ३० करोड पाउन्ड (४०५.३९ मिलियन अमेरिकी डलर) खर्च गरिसकेको टोटनह्यामले आफ्नो आक्रमणपंक्ति थप बलियो बनाउन खोजिरहेको थियो। क्लबले एभर्टनका इलिमान एनडियायेलाई पनि अनुबन्ध गर्न चासो देखाएको थियो। तर‚ एनडियाये मंगलबार नै म्यानचेस्टर सिटीमा आबद्ध भए।
चेल्सीका लागि ७३ खेल खेलेका मुड्रिकले १० गोल गरेका छन्। उनले यसअघि शाख्तर डोनेत्स्कमा डे जर्बीको प्रशिक्षणमा पनि खेलेका थिए।
इटालियन प्रशिक्षक डे जर्बीले भने, ‘करिअरको सुरुवाती चरणमै मिखासँग काम गरिसकेकाले उनले हाम्रो टोलीमा के योगदान दिन सक्छन् भन्ने मलाई ठ्याक्कै थाहा छ।’
उनले थपे,‘उनको गति र एकविरुद्ध एकको अवस्थामा खेल परिवर्तन गर्न सक्ने क्षमता निकै राम्रो छ। उनी आक्रमणमा प्रभाव पार्न सक्ने प्रतिभाशाली खेलाडी हुन्। मिखासँग म धेरै अपेक्षा राख्नेछु। उनलाई आफ्नो क्षमताको उत्कृष्ट स्तरमा पुग्न सहयोग गर्नु हाम्रो जिम्मेवारी हो।’
मुड्रिकले युक्रेनको राष्ट्रिय टोलीबाट २८ खेल खेलेका छन्।









-1788270833407.jpeg&w=3840&q=75)


