पोखरा। पोखरामा चैत २९ देखि वैशाख १ गतेसम्म एलिट भलिबल कप हुने भएको छ।
एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाका अनुसार प्रतियोगितामा पुरुष र महिला गरी दुवैतर्फका टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने छ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउनेछन्। महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन्।
विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ।