ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा जावालखेलमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी आईतबार हुने भएको छ।
विभिन्न पालिकाहरूबिच हुने प्रतियोगिता चैत १० गतेदेखि १५ चैतसम्म चल्ने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
प्रतियोगिताको व्यवस्थापन जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले गर्नेछ। केन्द्रका अध्यक्ष माधव खड्काले भलिबल खेलको विकास गर्न र पालिकास्तरमा खेलाडी उत्पादन गर्न यस वर्ष समेत प्रतियोगितालाई निरन्तरता दिईएको बताएका छन् ।
उनले महानगरको यस कार्यक्रमलाई प्रशिक्षण केन्द्रले सफलतापूर्वक सञ्चालन गर्दै आएको जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
उपाधि विजेता टिमले समान दुई–दुई लाख, दोस्रो हुनेले एक–एक लाख र तेस्रो हुने टिमलाई ५०–५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टिम बाहिरका खेलाडीमात्र हुनुपर्ने नियम राखिएको छ ।