काठमाडौं। हरिसिद्धि स्पोर्टिङ क्लबले प्रथम हरिसिद्धि फुटसल लिगको उपाधि जितेको छ।
नेक्स्लोको प्रायोजनमा आयोजित लिगमा आठ टिम सहभागी प्रतियोगिताको अन्तिम खेलमा थसी एफसीलाई १–१ को बराबरीमा रोक्दै हरिसिद्धीले उपाधि हात पारेको हो।
राउन्ड रोबिन लिगको आधारमा आयोजित प्रतियोगितामा अपराजित रूपमा सर्वाधिक १९ अंक जोड्दै हरिसिद्धि च्याम्पियन भएको हो। उसले ६ खेल जित्यो भने एक खेल बराबरीमा टुंग्यायो। उसले उपाधिसँगै १ लाख रुपैयाँ प्राप्त गर्यो।
उपाधि होडमा हरिसिद्धिलाई चुनौती दिएको थसी एफसी पनि अपराजित रह्यो। उसले ५ जित र २ बराबरीसँगै १७ अंक बनाएर दोस्रो स्थान हासिल गर्दै ५० हजार पायो।
अन्तिम खेलमा हरिसिद्धिलाई पराजित गर्न सकेको भए थसी लिग च्याम्पियन बन्ने थियो तर तीन अंक जोड्न सकेन। श्री सेता गणेश युवा क्लब (१४ अंक) तेस्रोमा रह्यो। उसको भागमा २० हजार पर्यो।
डी–२४ धापाखेल ११ अंकसहित चौथो भयो। ६ अंक बनाएको सुनगुठी एलएमसी २७ शीर्ष पाँचमा अटायो। रुद्रायणी युवा क्लब र बी स्पट एफसी समान ५ अंक जोड्दै क्रमशः छैटौं र सातौं भयो।
अन्तिम स्थानमा रहेको बडे गाउँ एफसी १ अंकमै सीमित रह्यो। पूरा लिगमा कुनै खेल नजित्ने एक्लो टिम पनि बडे गाउँ नै रह्यो।