काठमाडौं। फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य शीर्ष स्थानमा रहेका छन्।
१७ देखि २१ वर्ष उमेर समूहमा १–ओभर ६९ को स्कोरमा सद्भावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन्।
रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं होलको डबल बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए।
यसपछि १०औं र १४औं होलमा एक–एक सट गुमाए भने १८ औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे।
१२ देखि १६ वर्ष उमेर समूहमा इधान्त सिंह साउद १२–ओभर ८० को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले दीपेश श्रेष्ठलाई ४ स्ट्रोकले पछि पारे। दीपेश १६–ओभर ८६ सहित दोस्रो स्थानमा छन्।
गर्ल्स १२–२१ वर्ष उमेर समूहमा अभानी राई २०–ओभर ८८ सहित शीर्षस्थानमा रहिन्। उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन्।