पोखरा। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा शनिबार दोस्रो क्वालिफायरका खेल हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन शनिबार पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ। बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच हुनेछ। टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको थियो।
आयोजकलाई हराएको एपिएफ फाइनलमा पुगेको छ। न्यु डायमन्डले इलिमिनेटरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ। साढे १ बजेबाट सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ। आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो।
गण्डकीले इलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो। दुवैतर्फको फाइनल खेल आइतबार हुनेछ। प्रतियोगिताको विजेताले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रो हुनेलाई दुई लाख ८५ हजार ५५५ र तेस्रो हुनेलाई एक लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।