पोखरा। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ इलिमिनेटर खेल हुनेछ।
पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ। उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमन्डबीच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ।
बिहीबारको दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ। बिहान ११ बजेबाट त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बीचको खेल सुरु हुने तालिका छ। उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो। यो खेलको क्वालिफायर खेल्ने र इलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ।
बिहीबारको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ। उक्त खेलको विजेताले इलिमिनेटर खेल्नेछ। दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एक दिन लम्बिने भएको छ। यसअघि १९ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता २० गतेसम्म चल्ने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए।