पोखरा। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार लिगचरणका चार खेल हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन महिला र पुरुषतर्फ दुई/दुई खेल हुने तालिका छ।
पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ। पहिलो खेल प्रतियोगिताबाट बाहिरिइसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ।
दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबीच हुनेछ। यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ। उक्त समूहबाट तेस्रो हुँदै पुलिस इलिमिनेटरमा प्रवेश गरिसकेको छ।
बुधबार तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ। तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ। उक्त खेल पौने १ बजे सुरु हुनेछ। बुधबारको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ।
यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबीचको खेल बिहीबार हुने आयोजकले जनाएको छ। मंगलबार भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो। यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले न्यु डायमन्ड स्पोटर्स क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो।