पोखरा। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार चार खेल हुने भएका छन्।
शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन सोमबार महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ। अब लिगचरणका खेल हुनेछ। सबै टोलीले एक/एक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन्। ती समूहअन्तर्गत लिग खेल हुनेछ।
एउटै समूहमा रहने टोलीले एक अर्कासँग खेल्नेछन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल हुनेछ। उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच प्रतिस्पर्धा हुनेछ।
दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन्। उक्त खेलमा पौने ११ बजेबाट सुरु हुनेछ।
तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्। भोलिको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ।
लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले इलिमिनेटरमा भिड्नेछन्।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन्। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।