पोखरा। पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ। आर्मी र आयोजक टोलीबीचको खेलको तेस्रो सेट सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो।
पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो। दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल गर्यो। त्यसपछि रेफ्री टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे।
खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो। अब उक्त आइतबार गर्ने रेफ्रि थापाले बताए। ‘पर्सिदेखि लिग सुरु हुन्छ। भ्याएसम्म भोलि नै गर्ने हो। सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल भइराखेको छ,’ उनले भने।
यसअघि भएको खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो। यस्तै आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो।