पोखरा। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले पुनरागमन जित हासिल गरेको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो।
पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो। पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो।
इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो। तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो। एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो। पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो।