पोखरा। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबारदेखि हुने उक्त प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ। खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला टोलीले खेल्नेछ। अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन्।
प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन्। विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन्।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन्। प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन्।
प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन्। उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ।