काठमाडौं। पुलिस स्कुलले लगातार चौथोपल्ट ललित अम्बर डिपो कपको उपाधि चुमेको छ।
डिपो स्कुलको आयोजनामा गत पुस १२ गतेदेखि सुरु भएको १९औं अम्बर ललित डिपो कपको फाइनलमा शुक्रबार आयोजक डिपो स्कुल रेड टिमलाई टाइब्रेकरमा पराजित गर्दै पुलिस स्कुलले उपाधिमाथि कब्जा जमाएको हो।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवैतर्फ कुनै गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पुलिस ४-२ ले विजयी भयो। टाइब्रेकरमा पुलिस स्कुलका विनायक निरौला, मणिकुमार लिम्बू, अङ्सु बास्फोर र नियुस खड्काले गोल गरे। डिपो स्कुलका कुशल राई र करण खड्काले मात्र गोल गर्न सके।
प्रतियोगिताका विजेताले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ। उपविजेताले डिपो स्कुलले ७ हजार १ सय ११ र तेस्रो उपाधि विजेता इमानुयलले ५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन्।