बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

काठमाडौं। जर्मनीका अनुभवी गोलकिपर मार्क–आन्द्रे टेर स्टेगेन बार्सिलोनाबाट एक सिजनका लागि ऋण (लोन) सम्झौतामा डच क्लब आयाक्समा आबद्ध भएका छन्।
राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक युर्गेन क्लोपको नेतृत्वमा पुनः स्थान बनाउने लक्ष्यसहित उनले यो निर्णय लिएका हुन्। आयाक्सले मंगलबार ३४ वर्षीय टेर स्टेगेनसँग एक सिजनको सम्झौता भएको पुष्टि गर्दै उनले क्लबका नयाँ मुख्य प्रशिक्षक मिचेल सान्चेजसँग पुनर्मिलन गर्ने जनाएको छ।
बार्सिलोनामा आफ्नो १२औं सिजन चुनौतीपूर्ण बनेपछि टेर स्टेगेन गत जनवरीमा क्याटालोनियाकै अर्को क्लब गिरोनामा लोनमा गएका थिए। अब उनले नयाँ चुनौतीका रूपमा आयाक्स रोजेका छन्। जर्मनीका पूर्वनम्बर एक गोलकिपर म्यानुएल नोयरको छायाँमा लगातार तीन विश्वकप टोलीमा रहे पनि टेर स्टेगेनले २०१४ को विश्वकप उपाधिबाहेक मुख्य भूमिका निभाउने अवसर कम पाए।
यस वर्ष भएको विश्वकपका लागि भने उनी जर्मनीको टोलीमा समावेश हुन सकेनन्, जहाँ जर्मनी अन्तिम ३२ चरणमै पाराग्वेसँग पराजित हुँदै बाहिरिएको थियो। टेर स्टेगेनले जर्मनीका लागि आफ्नो पछिल्लो खेल सन् २०२५ को जुनमा भएको यूईएफए नेसन्स लिगको फाइनल चरणमा खेलेका थिए। उनले हालसम्म राष्ट्रिय टोलीबाट ४४ खेल खेलिसकेका छन्।
आयाक्सका प्राविधिक निर्देशक जोर्डी क्रुइफले टेर स्टेगेनको आगमनलाई महत्त्वपूर्ण उपलब्धि भन्दै भने,‘मार्कसँग उत्कृष्ट अनुभव र उपलब्धिको इतिहास छ। उनको क्षमता विश्व फुटबलमा व्यापक रूपमा सम्मानित छ।’
टेर स्टेगेन यस सिजन आयाक्समा अनुबन्ध हुने दोस्रो जर्मन अन्तर्राष्ट्रिय खेलाडी हुन्। यसअघि जुलियन ब्रान्टले बोरुसिया डर्टमुन्डसँगको सम्झौता सकिएपछि फ्रि एजेन्टका रूपमा तीन वर्षका लागि आयाक्ससँग सम्झौता गरेका थिए।
गत सिजन डच एरेडिभिसीमा पाँचौं स्थानमा सीमित भएको आयाक्स यसपटक पुनरागमनको लक्ष्यमा छ। टोलीले युरोपेली तेस्रो श्रेणीको कन्फरेन्स लिग छनोट प्रतियोगिता सुरु गरिसकेको छ र शुक्रबार पहिलो लेगमा आयरल्यान्डको शेलबर्नसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।





-1785838174487.png&w=3840&q=75)






