न्यु डायमन्डको दुवै टोलीको जित
आइतबार, ०७ असार २०८३खेलपाटी संवाददाता
काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन्।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २५–२, २५–५ र २५–२ को सोझो सेटमा सहजै पराजित गर्यो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा न्यु डायमन्ड एकेडेमीले एलिक्सर एकेडेमीलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१२ ले हरायो।
प्रतियोगितामा ८ टिम सहभागी छन्। शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।















