काठमाडौं। नेपाल इन्टरनेसनल च्यालेन्जको पहिलो दिन सोमबार नेपाली खेलाडीले सुखद सुरुआत गर्न सकेनन्।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालकी नम्बर एक खेलाडी रसिला महर्जन भारतीय खेलाडी अदिती भट्टसँग २१–११, २१–१४ को सोझो सेटमा पराजित भइन्।
विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त च्याम्पियनसिपमा पुरुष एकलको क्वालिफाइङ राउन्डमा क्षितिज खनालले पहिलो चरणमा जित हात पार्दै केही सुखद लक्षण देखाएका थिए। क्वालिफाइङको पहिलो खेलमा भारतका चरन नायक खेलबतुलाई उनले २१–१४, १७–२१, २१–१७ ले पराजित गरे पनि दोस्रो चरण प्रवेशमा भारतकै सिद्धान्त सलारसँग २१–१८, २१–८ ले पराजित हुँदै पुरुष एकलतर्फको खेल यात्रा टुंगाए। यस्तै, क्वालिफाइङकै अन्य खेलमा देव राना भारतका सिद्धान्त सलारसँग २१–११, २१–११ को समानअन्तरले पराजित भए।
नेपालकै भोजबहादुर गुरुङ भारतका मोहितगोवाडा पालाक्षासँग २१–९, २१–१०, जीवन आचार्य भारतकै प्रणव राम नागालिंगमसँग २१–१२, २१–१५, प्रफुल महर्जन बंगलादेशका खान्दोकर अब्दुस सोदसँग २१–१५, २१–१८, अमन महर्जन भारतका अतुल जोन म्याथ्युसँग २१–१५, २१–९ र सुनिल जोशी श्रीलंकाका शेनुक समारत्नेसँग २१–१८, २१–८ ले पराजित हुँदै एकल र्फको यात्रामा पूर्णविराम लगाए।
क्वालिफाइङ राउन्डमा पुरुष एकलतर्फ श्रीलंकाका सेनुक समारत्ने, भारतका लोकेशबाबु रमेश, सिद्धान्त सलार, किरणकुमार मेकला, प्रज्वल सोनावाने, प्रणव राम नागालिंगम, आनन्दसराज कुमार, अभ्यान्स सिंह र हेमन्त ग्वाडा जित निकाल्दै मेन ड्रमा प्रवेश गरे।
पुरुष तथा महिला एकल तथा युगल र मिक्स गरी पाँच विधामा पाँच महादेशका २२ राष्ट्रका १०/७ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा नेपालको तर्फबाट ९ पुरुष र ७ महिला खेलाडीको सहभागिता छ। १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको च्याम्पियनसिपमा सबै विधाका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वाटरफाइनलिस्टका खेलाडीले क्रमशः १२ सय, ७२०, ६ सय र ४८० डलर प्राप्त गर्नेछन्।