ललितपुर । जेम्स स्कुलको आयोजनामा ‘थन्डर बोल्ट्स कप २०२४’ खेलकुद प्रतियोगिता शुरु भएको छ।
१२ वटा खेल, उपत्यका भित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा वढी खेलाडीहरुको सहभागिता रहने बृहत खेलकुदको आयोजनाको यो दोस्रो संस्करण हो।
१२ खेल बास्केटबल, फुटबल, भलिवल, क्रिकेट, टेनिस, टेबल टेनिस, आर्चरी, तेक्वान्दो, जुडो, चेस, फुटसल र पौडी रहेको छ।
“सपना देख, विश्वास गर, प्राप्ति गर” भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले प्रतियोगिताको आयोजना गरेको हो ।
पुस ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल र बहुविधामा विजेता भई सबैभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय थन्डर बोल्ट्स कप २०२४ को विजेता हुनेछ।
विजेता स्कुलले ५ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछ भने लगातार ३ वर्षको च्याम्पियन विद्यालयले ट्रफी कब्जा गर्नेछ।
नेपालका विद्यालयहरूबिच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्नु प्रतियोगिता आयोजनाको उदेश्य रहेको आयोजक संयोजक अनित पाण्डेले बताए।
प्रतियोगितालाई थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरले प्रायोजन तथा फोटोनले समर्थन गरेको छ।
उद्घाटन समारोहमा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, नेपाल जुडो तथा बक्सिङ सङ्घका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौर र प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीको उपस्थिति लगायतको उपस्थिति रहेको थियो ।