काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ।
७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख ३५ हजार नगद पुरस्कार रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दीपक आचार्यले जानकारी दिए।
विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन्। चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तिमा कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो–कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान बनाउने छन्। कट बनाउने सबै प्रो–गल्फरले नगद पुरस्कार हात पार्नेछन्।
डिफेन्डिङ च्याम्पियन नीरज तामाङ, नेपाल नम्बर एक प्रो–भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन्। उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सद्भाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ।