एजेन्सी । फुटबलमा करियर खोजिरहेका ट्रयाक एण्ड फिल्डका कीर्तिमानी धावक उसेन बोल्टले सम्पूर्ण खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
आठ पटकको ओलम्पिक च्याम्पियन बोल्ट पछिल्लो वर्षयता फुटबल खेलाडी बन्ने योजनासहित विभिन्न क्लबमा प्रशिक्षण गरिरहेका थिए । तर, बोल्टले फुटबल करियर बनाउने क्रममा आफुले धेरै कुरा सिकेको बताउदै अब फरक काममा लाग्ने बताए । उनले व्यवसायमा जाने बताएका छन् ।
'सबैले यात्रा गर्नुपर्छ । जहा तपाई पाठ सिक्नु हुन्छ । तपाईं जिउँनुहुन्छ,' बोल्टले भने, 'म धेरै कार्यहरु गर्दैछु । खेलकुद जीवन समाप्त भएको छ । त्यसैले म अब विभिन्न व्यवसायमा जाने छु । मलाई एक व्यापारिक व्यक्ति बनाउने प्रयास गर्ने छु ।'
३२ बर्षिय बोल्टले गत भदौ महिनामा अष्ट्रेलियाको शीर्ष डिभिजन क्लब सेन्ट्रल कोष्ट मरिनर्समा ट्रायल र प्रशिक्षण गरेका थिए । प्रशिक्षणको दौरान बोल्टले अभ्यास खेलमा गोल समेत गरेका थिए ।
क्लबले बोल्टलाई अनुबन्धको प्रयास समेत गरेको थियो । तर, बोल्टले क्लबसंगको चार महिना लामो प्रशिक्षण यात्रा टुंगाएका थिए ।
यस्तै बोल्टले फुटबलर बन्ने क्रममा धेरै टिम र क्लबसंगको बसाई रमाइलो भएको बताए ।
'म यो भन्न चाहन्नँ कि मलाई ठीकसँग व्यवहार गरिएको थिएन, तर मलाई लाग्छ कि हामी यसबारेमा जान्दैनौ,' बोल्टले थपे, 'यो राम्रो अनुभव थियो। साँच्चै टिममा रहेको खेल्दा मज्जा आयो र यो ट्रयाक र फिल्ड भन्दा फरक थियो । निकै रमाइलो थियो।'
सन् २०१७ को अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।