२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

काठमाडौं। ब्राजिलका स्टार फुटबलर नेयमारका लागि विश्वकप जित्ने सपना अझै अधुरै छ।
चार संस्करणको विश्वकप खेलिसके पनि उनले अहिलेसम्म विश्वकप ट्रफी उचाल्न सकेका छैनन्। हालै कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको एक भावुक भिडियोले यही अपूरो सपना फेरि चर्चामा ल्याएको छ, जसले स्वयं नेयमारलाई पनि भावुक बनाएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा नेयमारका विभिन्न उमेरका संस्करणहरूबीच संवाद देखाइएको छ। भिडियोको मुख्य उद्देश्य नेयमारलाई सन् २०३० को विश्वकपमा अन्तिम पटक मैदानमा उत्रन प्रेरित गर्नु हो।
भिडियोमा सान्तोसको जर्सी लगाएको सानो नेयमारसँग भविष्यको नेयमार भेटिन्छन्। आफूलाई भविष्यको तिमी भनेर परिचय गराउँदै उनीहरूबीच भावुक संवाद हुन्छ।
कुराकानीका क्रममा सानो नेयमारले सोध्छन्, ‘हामीले पहिलो विश्वकप कुन उमेरमा जित्यौं?’
यसको जवाफमा भविष्यका नेयमार भावुक हुँदै भन्छन्, ‘म यही विषयमा तिमीसँग कुरा गर्न आएको हुँ। हामीले विश्वकप जित्न सकेनौँ। मैले आफ्नो सबै शक्ति लगाएँ, अन्तिम थोपा पसिनासम्म प्रयास गरें, तर सफल हुन सकिनँ। एक्लैले यो सम्भव थिएन। त्यसैले आज म तिम्रो सहयोग माग्न आएको हुँ। के तिमी चाहन्छौ कि म अन्तिम पटक फेरि विश्वकप जित्ने प्रयास गरूँ?’
भिडियोको अन्तिम दृश्यमा अझ वृद्ध नेयमार देखिन्छन्, जसको हातमा ‘२०३०’ लेखिएको विश्वकप ट्रफी हुन्छ। त्यसपछि सानो नेयमारले जवाफ दिन्छन्, ‘हो, अन्तिम पटक फेरि विश्वकप जित्ने प्रयास गर।’
भिडियो सार्वजनिक भएपछि नेयमारले इन्स्टाग्राममा तीनवटा प्रेम र भावनात्मक इमोजी राखेर प्रतिक्रिया दिएका छन्। उनको यो प्रतिक्रियाले समर्थकहरूलाई अझ उत्साहित बनाएको छ।
भिडियो सार्वजनिक भएको १२ घण्टामै यसले ३ करोड ३० लाखभन्दा बढी भ्यु प्राप्त गरेको छ। साथै करिब ३७ लाख रियाक्सन, १ लाख ९० हजारभन्दा बढी टिप्पणी र १० लाखभन्दा बढी शेयर भएको बताइएको छ।
यद्यपि, यो भिडियो एआईमार्फत सिर्जना गरिएको भावनात्मक प्रस्तुति हो। नेयमारले औपचारिक रूपमा सन् २०३० को विश्वकप खेल्ने निर्णय घोषणा गरेका छैनन्। तर भिडियोमा दिएको उनको प्रतिक्रियालाई धेरै समर्थकहरूले भविष्यमा उनी फेरि विश्वकप खेल्न सक्ने सम्भावित संकेतका रूपमा हेरेका छन्।












