इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

काठमाडौं। फ्रान्स र स्पेनबीच हुने २०२६ फिफा विश्वकपको सेमिफाइनल फुटबल इतिहासकै सबैभन्दा उच्च बजार मूल्य भएका दुई टोलीबीचको प्रतिस्पर्धा बन्ने भएको छ। दुवै टोलीका खेलाडीहरूको संयुक्त बजार मूल्य करिब ३ अर्ब अमेरिकी डलर पुगेको छ।
यद्यपि कुल बजार मूल्यमा फ्रान्स स्पेनभन्दा करिब ३५० मिलियन डलरले अगाडि छ। फ्रान्सेली टोलीको कुल बजार मूल्य करिब १.७८ अर्ब डलर रहेको छ भने स्पेनको कुल मूल्य करिब १.४३ अर्ब डलर छ। विश्वकपका सबैभन्दा मूल्यवान पाँच खेलाडीमध्ये चार जना यही सेमिफाइनलमा खेल्दैछन्।
स्पेनका युवा स्टार लामिन यमल करिब २३४ मिलियन डलरको बजार मूल्यसहित सबैभन्दा महँगा खेलाडी हुन्। फ्रान्सका किलियन एमबाख
प्पेको मूल्य करिब २१० मिलियन डलर छ भने माइकल ओलिसेको बजार मूल्य करिब १७५ मिलियन डलर रहेको छ। स्पेनका पेड्री गोन्जालेसको बजार मूल्य पनि १७५ मिलियन डलर पुगेको छ। शीर्ष पाँचमा रहेका एर्लिङ हालान्ड (करिब २३४ मिलियन डलर) भने क्वार्टरफाइनलमै नर्वे बाहिरिएपछि सेमिफाइनलमा देखिने छैनन्।
यी स्टार खेलाडीबाहेक पनि फ्रान्स–स्पेन सेमिफाइनलमा ११७ मिलियन डलरभन्दा बढी बजार मूल्य भएका सात खेलाडी छन्। दुवै टोलीका कुल २२ खेलाडीको बजार मूल्य कम्तीमा ५८ मिलियन डलर रहेको छ। तीमध्ये सात जना स्पेनका हुन् भने बाँकी १५ जना फ्रान्सका खेलाडी छन्।
पोजिसनअनुसार हेर्दा फ्रान्सका गोलकिपरहरूको संयुक्त बजार मूल्य ६७ मिलियन डलर छ। तर स्पेनका तीन गोलकिपरहरूको कुल मूल्य ११४ मिलियन डलर पुगेर फ्रान्सलाई उछिनेको छ।
रक्षापंक्तिमा भने फ्रान्स स्पष्ट रूपमा अगाडि छ। स्पेनका डिफेन्डरहरूको कुल बजार मूल्य ३३७ मिलियन डलर हुँदा फ्रान्सको रक्षापंक्ति ४७३ मिलियन डलरको छ।
मिडफिल्डमा स्पेनले अग्रता बनाएको छ। स्पेनका मिडफिल्डरहरूको संयुक्त बजार मूल्य ४९१ मिलियन डलर छ भने फ्रान्सका मिडफिल्डरहरूको मूल्य ३६५ मिलियन डलर रहेको छ।
सबैभन्दा ठूलो अन्तर आक्रमणपंक्तिमा देखिन्छ। प्रतियोगिताकै सबैभन्दा मूल्यवान खेलाडी यामाल स्पेनमा भए पनि समग्र आक्रमणपंक्तिको मूल्यमा फ्रान्स निकै अगाडि छ। फ्रान्सका विङ्गर र स्ट्राइकरहरूको संयुक्त बजार मूल्य ८७७ मिलियन डलर पुगेको छ, जसले टोलीको आक्रमणको गहिराइ र गुणस्तर झल्काउँछ।
बजार मूल्यमा उल्लेखनीय अन्तर भए पनि फ्रान्स र स्पेनबीचको यो भिडन्त २०२६ विश्वकपको मात्र होइन, फुटबल इतिहासकै सबैभन्दा मूल्यवान सेमिफाइनलका रूपमा दर्ज हुने निश्चित देखिएको छ।












