काठमाडौं। ईजीकेल परियार र निराजन मुक्तानले मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ) जर्मनीको आयोजनामा हुने प्रतियोगिता अक्टोबर ११ देखि १३ सम्म फ्रैंफर्टमा हुँदै छ।
ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन्। उनीहरु बुधबार जर्मनी प्रस्थान गर्ने छन्।
टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले उनीहरूलाई मंगलबार बिदाइ गरे। तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन्। दुवै खेलाडीबाट पदकको आशा गरिएको उनले बताए।