काठमाडौं । नेपाल पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।
सोमबार बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो । त्यसमा नेपालको सरस्वती डोजो, गोकर्णेश्वरले ११ स्वर्ण, २ रजत र २ कांस्य योगदान गर्यो ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा भारतले ४ स्वर्ण, २ रजत र ५ कांस्य हात पार्यो । पुरुषमा नेपालका रोहन जिम्मी र महिलामा नेपालकै प्रशंसा पहरी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा १ सय ७० खेलाडीले १९ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष केसीले जनाएका छन् ।