आइएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराते शनिबार

काठमाडौं। छैटौं आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ।
इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) को आयोजना हुने प्रतियोगितामा सातै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले जनाएका छन्। पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
पुरुषमा ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौलसमूहमा खेल हुनेछ। महिलामा ४० केजीमुनि र ४५ केजीमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। कुल पुरस्कार राशि १ लाख ३१ हजार रहेको छ।
एक दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा खेलाइने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने बताइएको छ।