काठमाडौं। भुटानको थिम्पुमा बिहीबारदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।
एलिसाले सेमिफाइनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन् भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए । त्यसैगरी सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए ।
जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंकासँग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए ।
सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी गराए।