काठमाडौं। पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ ।
फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्झौता १ वर्ष कायम रहने छ ।
सम्झौता अनुसार फाउन्डेसनले एरिकालाई खेल पोशाक र खेल सामाग्री उपलब्ध गराउने, प्रशिक्षण÷प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहनस्वरुप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् ।
फाउन्डेसनको यो कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।
प्राविधिक विज्ञको सुझाव अनुसार एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको थियो ।
सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताउदै फाउन्डेसनसँग जोडिन पाउँदा खुशी लागेको बताइन् ।