काठमाडौँ। एशियाली खेलकुद (एशियाड)की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँभन्दा बढी रकमसहित सम्मानित भएकी छन्।
११औँ दक्षिण एशियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन्स मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ) र प्रमाणपत्रसहित सम्मान गरिएको हो
एरिका यूएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिन अमेरिका पुगेकी थिइन् । उनलाई तमु परिवारले २ हजार ७५६, तमु सोसाइटीले ९ सय ५३, सुदूरपश्चिम समाजले ५५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कले १ सय ९०, मामाभान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन्स मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीहरुबाट संकलन भएको रकमसहित सम्मान गरिएको हो।
यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनिअरमा रजत पदक जितेकी थिइन्। गत असोजमा चीनमा भएको १९औँ एशियाडमा एरिकाले रजत पदक जितेकी थिइन्। एशियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन्।
सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३औँ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लवलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
हाल अमेरिका बस्दै आएकी अनुले पनि यूएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन्। विप्लभलालले पनि यूएसए ओपनमा भाग लिएका थिए। एरिका र विप्लवको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए।