काठमाडौँ। नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्।
१९औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका यूएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका गएकी थिइन्। उनीसँगै १०औँ साग गेमका गोल्डमेडलिस्टसमेत रहेका प्रशिक्षक श्रेष्ठ पनि अमेरिका पुगेका थिए।
उनीहरूलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित सम्मान गरेको हो। गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्ससमा भएको यूएस ओपन च्याम्पियनसिपमा प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह स्वर्ण र ६८ केजी तौल समूहमा रजत पदक हात पारेकी थिइन् ।
यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । जुलाईमा भुटानमा हुने आठौँ साउथ एशियन कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ। उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौँ फर्किनेछ ।