बुटवल । रुपन्देहीमा हुने लुम्बिनी पिस म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित जनवादी गणतन्त्र चीनको दुतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटि र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा हुने प्रतियोगिता आगामी शनिबार हुदैछ । म्याराथनको समापन लुम्बिनी स्क्वायरमा गरिने आयोजक प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जेपी भट्टराईले बताएका छन् ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ अन्तराष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटरको म्याराथन दौड हुनेछ भने महिला २१ किलोमिटर दुरीको हाफ म्याराथन सञ्चालन गरिने आयोजकले जनाएको छ ।
पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्र छात्राका लागि तीन किलोमिटरको वाकाथन पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा म्याराथनका विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिईएको छ । चौथों हुनेले १ लाख, पाँचौंले ८० हजार, छैटौंले ६० हजार, सातौंले ४० हजार, आठौंले २० हजार, नवौंले १० हजार र दशौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हाफ म्याराथन महिलातर्फका विजेताले २ लाख, दोस्रो हुनेले १ लाख ६० हजार र तेस्रो हुनेले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, पाँच किलोमिटर महिला पुरुषतर्फ पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पुरस्कारतर्फमात्र २० लाख रुपैयाँ खर्च गरिने सदस्य सचिव भट्टराईले बताए ।