प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा

काठमाडौँ। सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।
उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए। भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे। रमेश, रवि, निरज र विजयले सोमबार २-अन्डर ७० को स्कोर दर्ज गरे।
एमेच्योर सद्भाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन। युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्तरुपमा आठौँ स्थानमा रहे।
गोकर्ण गल्फ क्लबमा सोमबार भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो होलमा एक सट खेर फाले। यसपछि दोस्रो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तिमा २-अन्डरको स्थितिमा थिए।
तर, नवौँ होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे। १३औँ होलमा एक सट खेर फाले भने १०औँ, ११औँ, १५औँ र १७औँ होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।
एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौति दिने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौँ होलमा एक-एक सट बचाए। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे। १२औं होलमा बोगी खेप्दा १५औँ होलमा एक सट बचाए।
संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले शुरूआत राम्रो गर्न सकेनन। फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए। पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे। तर ५-पारको सातौं होलमा डबल बोगीको सामना गरे। तर, ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे। १५औँ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १६औँ र १७औँ होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३२ मा सकाए।
टुरको पाँचौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले छैटौँ, सातौँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औँ होलमा एक-एक सट खेर फाले।
यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौँ होलको बर्डी विरूद्ध सातौँ होलमा बोगी खेप्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १५औँ होलमा एक सट खेर फाल्दा १३औँ र १८औँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए।
एमेच्योर गल्फर विजयले उत्कृष्ट शुरूआत गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौँ र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौँ होलमा एक सट खेर फाले। यसपछि १०औँ होलमा बर्डी प्रहार गरे भने १६औँ र १७औँ होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १-ओभर ३७ मा पूरा गरे।
प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल शुरू हुनुभन्दा अगाडी नाम फिर्ता लिए। चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता रहेको छ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।






-1761584666208.jpeg&w=3840&q=75)









-1762169166191.jpg&w=3840&q=75)