काठमाडौँ। पाँचौँ संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वैशाख १ गते हुने जानकारी दिएको हो।
क्लबका अध्यक्ष सरोज शाहीका अनुसार ४९ किलोमिटर लामो सो प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागी हुने छन्। अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था मिलाइएको उनले बताए।
यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो। कोरोना महामारीका कारण २०७७ मा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन।
प्रतियोगितामा एक हजार बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा राखिएको छ। ४९ किमीतर्फ प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुनेलाई २० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट १० खेलाडी थप पुरस्कृत गरिनेछ। म्याराथन सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ। म्याराथनमा सहभागी हुने सार्कका धावकहरूले १४ हजार पाँच सय, अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई सात हजार आवेदन शुल्क तोकिएको क्लबले जनाएको छ।
जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी ,ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता हुने क्लबले जनाएको छ।