काठमाडौं । इटाली मिलानमा सुरु ओलम्पिक छनोट प्रतियोगितामा नेपालका चन्द्र थापाले विजयी सुरुवात गरेका छन् ।
चन्द्रले पुरुष ५१ केजी तौल समूहमा ताजकिस्तानका खेलाडीलाई हराएका हुन् ।
उनले ताजकिस्तानका शाफिएभ मेहरानलाई ३–२ स्पिलिट निर्णयका आधारमा पराजित गर्दै पहिलो जित दर्ता गराएका हुन् ।
थापाले अब भियतनाम र क्यानडाबीचका खेलाडीसँग खेल्नेछन् ।
अर्की खेलाडी अन्जली तेलीले महिला ५४ केजी तौल समूहमा सोमबार पोल्याण्डकी द्राविक सान्द्रासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।
ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औं संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।