काठमाडौं । बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता चैत १३ गतेबाट आयोजना हुने भएको छ ।
आयोजक बीर गणेशमान सिंह स्पोर्टस कमिटीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिाबारे जानकारी दिएको हो ।
चैत १३ गते सुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुने कमिटीका संयोजक सन्जीव तुलाधरले बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा ५ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ५१ केजी, ५७ केजी, ६३ केजी, ७१ केजी, ८० केजी, ९२ केजी र ९२ केजी तौल स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ५० केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६६ केजी र ७५ केजी गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यस पटक १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक तौल समूह थप गरिएको संयोजक तुलाधरले जानकारी दिए ।
प्रतियोगितामा तौल समूहमा पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा तीन विभाग सहित ७ प्रदेशका करिब १ सय ५० जना खेलाडीको सहभागीता रहने गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक प्रभाषमान सिंहले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कार्यक्रम सञ्चालका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।