पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल ¥याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।
चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मेयर धनराज आचार्यले छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् ।
प्रधानले अहिलेको संकटको समयमा पनि एनसेल, बीवाईडीसहित अन्य निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताएका थिए ।
उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए ।
पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताउँदै यस कार्यक्रमलाई महानगरपालिकाको क्यालेन्डरमा राख्नुपर्नेमा जोड दिएका थिए ।