काठमाडौं । झिल्टुङ क्रस कन्ट्री दौडको आठौं संस्करण आगामी माघ ६ गते हुने भएको छ ।
आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ ।
प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा-छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा-छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमासमूह गरी १० विधा समेटिएको छ ।
तीमध्ये खुला महिला-पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३ दशमलव ४ तथा अन्य ४ दशमलव ५ किमीको हुनेछ ।
प्रतियोगिता आयोजक वडा नम्बर ५ स्थितकोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दुरी १३ दशमलव ४ किलोमिटर कच्चीबाटो रहेको छ ।
खुला महिला-पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
स्थानीय खुलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्फका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् ।
खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ ।
स्थानीय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।