काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय बेसबल–फाइभ च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको सह–आयोजना हुन लागेको प्रतियोगिता भोलि बुधबार र बिहीबार दशरथ रंगशालाको कर्भडहलमा सञ्चालन हुनेछ ।
विश्व बेसबल सफ्टबल महासंघले सन् २०१८ देखि बेसबल र सफ्टबललाई सानो खेल मैदान र छरितो ढङ्गले खेल्न मिल्ने गरि विकास गरेको बेसबल–फाइभ नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।
खेलमा महिला र पुरुष एक टिममा अनिवार्य हुनुपर्ने नियम छ । ग्लोब्स र ब्याट बिना खेलिने यस खेल खाली मैदान, बास्केटबल कोर्ट, कभर्डहल जतासुकै खेल्न मिल्ने गरि तयार गरिएको संघका अध्यक्ष दिपक न्यौपानेले बताए ।
नेपालमा सन् २०२३ देखि खेल्न सुरु गरिएको बेसबल–फाइभ प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो । पहिलो संस्करणमा सातैवटा प्रदेशका टिमहरु सहभागी हुनेछन् । प्रत्येक टिममा ८ जना खेलाडी र २ अफिसियल गरि १० जना रहनेछ ।
हरेक टिममा कम्तीमा २ जना महिला खेलाडी अनिवार्य गरिएको छ । ५ जनाको प्लेईङ सेटमा १ महिला अनिवार्य छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा दुई समूह विभाजन गरि खेलाईने आयोजकले जनाएको छ ।
डब्लूबीएससीको नियमानुसार ५ इनिङको खेल खेलाईनेछ । प्रत्येक समूहको २ वटा टिमलाई सुपर राउण्डमा लागेर सेमिफाइनल र फाइनल खेलाईनेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र समापन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितालाई राखेप र प्रदेश खेलकुद विकास परिषद् बागमतीले सहयोग गरेका छन् ।
प्रतियोगिताको आयोजनाबाट बेसबल, सफ्टबल, बेसबल–फाइभ को लोकप्रियता वृद्धिमा सहयोग पुग्ने संघका अध्यक्ष दिपक न्यौपानेले बताए । ‘यस प्रतियोगितामा सहभागी मध्यबाट निकट भविष्यमा हुने एसियन बेसबल–फाइभ प्रतियोगिताको निमित्त राष्ट्रिय टोलीको समेत छनोट गरिनेछ ।’ न्यौपानेले भने ।