काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं संस्करणको पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ ।
पुरुष-महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । सहभागी सबैको खाना र बसोवासको व्यवस्था संघले नै गर्नेछ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
तीन दिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा खेलाइने छ ।