काठमाडौं । छैटौं संस्करणको तुलसीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता पुस २३ देखि सुरु हुने भएको छ ।
काठमाडौंमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर छैटौं संस्करणको प्रतियोगिताबारे जानकारी दिईएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुलसीलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २८ गतेसम्म चल्नेछ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ। जस अनुसार कूल पुरस्कार राशी ४ लाख ७० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराए ।
विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीको सहभागीता रहनेछ। जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीलाई ए, बी, सी र डी गरि चार समूह वर्गीकरण गरिएको छ।
जस अनुसार समूह एमा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९ सय रेटिङ माथिका खेलाडी रहने छन्।
समूह बीमा १९ सय रेटिङ मुनिका खेलाडी, समूह सीमा यु २० र समूह डीमा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने छन्।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गजुरमुखी चेस क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्ट म्यानेजमेन्ट टिम, हिमालयन चेस क्लब लगायत सातै प्रदेशका टिमहरुको सहभागीता रहने महासचिव धरम बहादुर लामाले बताए ।
प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च ३१ लाख रुपैयाँ लाग्ने जानकारी गराएका छन्।
सो रकमको ब्यवस्था बागमती प्रदेश खेलकुद परिषद् हेटौंडा, राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह, सुभेच्छुक संघ संस्था र प्रतिष्ठित ब्यक्तिको सहयोग रहने संघकी उपमहासचिव मोनालिसा खम्बुले जानकारी दिईन् ।