काठमाडौं । एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।
मकवानपुर जिल्ला बुद्धिचालको आयोजनामा भएको प्रतियोगिताको ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबरीको नतिजा निकाल्दै भारतीय खेलाडी शुभयानले ७ दशमलव ५ अंक बनाएर उपाधि जितेका हुन् ।
उपाधि सहित उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल बिजेता बनेका छन्।
बंगलादेशका आईएम मोहमद मिनहाज उद्धिन दोस्रो र भारतका एफएम अरबिन्द प्रित सिं तेस्रो भए । दुवैले क्रमश ७५ हजार र ४० हजार रुपैयाँ नगद हात पारे ।
प्रतियोगितामा बंगलादेशका मो सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६ दशमलव ५ अंक प्राप्त गर्दै क्रमश चौथौंदेखि दशौं स्थानमा रहन सफल बने ।
बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले विजेता खेलाडीलाई पुरस्कृत गरेकी थिईन् ।