काठमाडौं । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा बुधबारदेखि हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
बुधबार पहिलो चरणको खेलमा भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन खेलाडी डब्लुआइएम सचिनी राणाशिंघे, नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल लगायत सबै शीर्ष खेलाडीले जित निकाल्न भएका छन् ।
नेपालका पुरुषोत्तम सिलवाल, शुश्रुत दाहाल, धिरेन राई र टेक राईले पनि बुधबार सफलता हात पारे ।
पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई भारतीय खेलाडी पियुस कुमारसँग बराबरीमा रोकिए भने नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी १४ सय ३३ रेटिङ भएका पंकज बोर्सेसंग पराजित भए।
नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागीता रहेको प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव सूर्य लाल भण्डारीले गरेका थिए ।
कार्यक्रममा मन्तब्य राख्दै सदस्य सचिव भण्डारीले बागमती प्रदेश स्तरमै चेसलाई पाठ्यक्रममा राख्न आफू लागि परेको जानकारी दिएका थिए ।