काठमाडौं । ललितपुर सिटी एफसीले समर्थकलाई ५ सय वटा टिकट निशुल्क वितरण गर्ने भएको छ ।
बुधबार ललितपुर सिटी एफसीले प्रतियोगिताको दोस्रो खेलमा पोखरा थन्डर्ससँग खेल्दैछ । दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
क्लबले आफ्ना समर्थकलाई खेल हेर्नका लागि ५ सय वटा टिकट निशुल्क बाँड्ने निर्णय गरेको हो ।
क्लबका प्रबन्ध निर्देशक आलोक जोशीले दिउँसो ४ बजेदेखि समर्थकलाई निशुल्क टिकट बितरण गरिने जानकारी दिए ।
‘जो समर्थक पहिला आउछन्, उनैलाई प्राथमिकतामा राखेर टिकट वितरण गरिनेछ ।’ जोशीले भने, ‘पहिला आउने समर्थकले पहिलो प्राथमिकताका आधारमा टिकट पाउनेछन् ।’
काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ड ट्रेड सेन्टरको ग्राउन्ड फ्लोरमा रहेका पेपे पिज्जा र घान्द्रुक थकाली भान्सा घरबाट समर्थकले टिकट प्राप्त गर्न सक्नेछन् ।
ललितपुर शहरलाई लिएर फ्रेन्चाइज फुटबलमा आबद्ध भएको ललितपुर सिटी एफसीको स्वामित्व भाटभटेनी समूहसँग छ । घरेलु फुटबलमा आफ्नो समर्थकलाई प्रोत्साहन गर्ने उद्धेश्यले निशुल्क टिकट वितरण गर्ने निर्णय गरिएको ललितपुर सिटी एफसीले जनाएको छ ।
ललितपुरले खेलको दौरान धिमे बाजा सहित ललितपुरको कला संस्कृतिलाई खेलको दौरान रंगशालामा प्रर्दशन गर्ने गरेको छ ।
ललितपुर सिटी एफसीले लिगको पहिलो खेलमा बुटवल लुम्बिनी क्लबलाई हराएको थियो । ललितपुरलाई दोस्रो सिजनको एनएसएलको उपाधि दाबेदारको रुपमा हेरिएको छ ।