काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको क्रिकेट विकासमा विशेष चासो ब्यक्त गरेका छन् ।
प्रदेश खेलकुद विकास परिषद्को मंगलबार बोर्ड बैठक बस्ने क्रममा मुख्यमन्त्री शर्माले अन्तराष्ट्रिय रुपमा सफलता हासिल गरिरहेको क्रिकेटको विकासमा कर्णालीले समेत विशेष भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
बोर्ड बैठकमा मुख्यमन्त्री शर्माले क्रिकेट खेल विकासको लागि तत्कालिन र दिर्घकालिन योजना तयार गर्न समाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिएका छन् ।
छलफलको क्रममा क्रिकेट खेलको दिर्घकालिन विकासका लागि प्रत्येक स्थानीय तहको साझेदारीमा कम्तिमा एउटा क्रिकेट अभ्यास नेट सबै स्थानीय तहमा आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्ने र सुर्खेत जिल्लाको मैनतडामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल आयोजना गर्न सकिने प्रदेश स्तरको रंगशाला निर्माणको गुरु योजना सहितको लागत प्रतिवेदन तयार गर्न मुख्यमन्त्री शर्माले निर्देशन दिएका छन् ।
यस्तै, प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश खेलकुद विकास परिषद्लाई प्राप्त बजेटबाटै खर्च हुने गरि दशौं राष्ट्रिय खेलकुद तयारी अन्तरगत तत्कालिन रुपमा बिरेन्द्रनगर नगरपालिकाको कालुन्चोक र निर्माणाधिन प्रदेश रंगशालाको उत्तर पट्टीको जग्गामा गरि दुई क्रिकेट मैदान बनाउने र निर्माणाधिन प्रदेश रंगशालाको उत्तर पट्टी एउटा इन्डोर क्रिकेट अभ्यास हल र तीन वटा आउटडोर क्रिकेट अभ्यास नेटको निर्माण सुरु गर्ने भएको छ ।
कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा छनोट हुने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । खेलाडीलाई प्रशिक्षणको दौरान खाजा खर्च वापत मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको हो ।