काठमाडौं । प्रोफेसनल गल्फर्स एसोसियसन नेपाल एनपीजीएले सूर्य नेपाल गल्फ टुर २०२३-२४ सिजनको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।
सुर्य नेपाल प्रालिद्वारा प्रायोजित नयाँ सिजनमा कुल ६४ लाख ३६ हजार १ सय ५० नगद पुरस्कारको लागि आठ प्रतियोगिता सञ्चालन हुनेछन्। यो सिजनमा ५ प्रतिशतले पुरस्कार राशी वृद्धि गरिएको एनपीजीएका महासचिव दिपक आचार्यले जानकारी दिए।
सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ। ७२ होलको चारदिने प्रतियोगिता भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ३३ प्रोफेसनल गल्फरले कुल ८ लाख ४० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। प्रोफेसनलसँगै ४ एमरच्योर खेलाडीले पनि सहभागिता जनाउनेछन्।
दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल खेलाडीले कट बनाउने छन्। विजेताले १ लाख ४५ हजार प्राप्त गर्दा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा पौष ८ गतेदेखि १० गतेसम्म हुनेछ। यो प्रतियोगितामा गत सिजनको अर्डर अफ मेरिटको आधारमा १६ खेलाडीले नगद दुई लाख ५० हजारको लागि प्रतिस्पर्धा गर्नेछन्।
तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्समा माघ १० गतेदेखि १३ गतेसम्म हुनेछ। यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ४० हजार रहेको छ।
रोयल नेपाल गल्फ क्लबमा चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। यो प्रतियोगितामा गल्फरहरूले ७ लाख ३ हजार ५ सय नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्।
पाँचौ प्रतियोगिता धरानमा हुनेछ। धरान गल्फ क्लबमा हुने सूर्य नेपाल इस्टर्न ओपनमा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ। प्रतियोगिता फाल्गुन ९ गतेदेखि १२ गतेसम्म हुनेछ।
रोयल नेपाल गल्फ क्लबमा हुने सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज फाल्गुन २९ देखि चैत दुई गतेसम्म चल्नेछ। जहाँ कुल नगद पुरस्कार ५ लाख ७२ हजार २ सय ५० रहनेछ।
सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा चैत १२ गतेदेखि १५ गतेसम्म हुनेछ। यह प्रतियोगितामा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ।
सिजनको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप वैशाख ४ गतेदेखि ८ गतेसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। जहाँ प्रोफेसनल गल्फरहरूले १५ लाख ५५ हजार ४ सय नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन।
एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विगत १७ वर्षदेखि गल्फ टुर सञ्चालन गर्न प्रायोजन गरेकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए।