अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

रियल मड्रिडका फ्रान्सेली स्टार किलियन एमबाप्पे सम्भावित अपराध गिरोहको निशानामा रहेको तथ्य सार्वजनिक भएको छ।
फ्रान्सेली सञ्चारमाध्यम ‘ला पेरिजियन’का अनुसार १८ वर्षीय एक युवाको नेतृत्वमा सञ्चालित भनिएको अपराध गिरोहले तयार पारेको निशानाको सूचीमा एमबाप्पेको नामसमेत थियो।
उक्त गिरोहले फुटबल खेलाडी, र्यापर तथा धनाढ्य व्यक्तिको अपहरण र उनीहरूमाथि आक्रमण गर्ने योजना बनाएको अनुसन्धानकर्ताहरूको आशंका छ। अनुसन्धानका क्रममा गिरोहको गतिविधि १८ वर्षीय फ्रान्सेली–स्विस नागरिक क्लिमेन्ट एलले जेलभित्रैबाट स्न्यापच्याटमार्फत सञ्चालन गरिरहेको हुन सक्ने देखिएको छ।
डकैती र मानव तस्करीसम्बन्धी अपराधमा क्लिमेन्ट हाल भिलपेन्ट कारागारमा सजाय भोगिरहेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार उनले ‘लेस्टर जेड.’ नामको परिचय प्रयोग गर्दै जेलबाटै कथित आपराधिक गतिविधि सञ्चालन गरिरहेका थिए।
गत अप्रिलमा नुई–सुर–सेन क्षेत्रमा एक घडी व्यवसायीमाथि भएको आक्रमणको अनुसन्धान गर्ने क्रममा सुरक्षाकर्मीले उक्त कथित सञ्जालबारे जानकारी पाएका थिए। त्यसपछि शंकास्पद व्यक्तिसँग सम्बन्धित केही मोबाइल फोनको परीक्षण गर्दा सम्भावित लक्ष्यका रूपमा पहिचान गरिएका विभिन्न व्यक्तिको ठेगाना र व्यक्तिगत विवरण फेला परेको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्।
ला पेरिजियनका अनुसार उक्त सूचीमा गायक, फुटबल खेलाडी र धनाढ्य व्यवसायीहरू थिए। पेरिसको १९औं एरोन्डिस्मेन्टका एक चिनियाँ व्यवसायी, एक गहना व्यवसायी तथा भाल–द्वाज क्षेत्रमा रहेका एक टर्किस थोक विक्रेताको नाम पनि सूचीमा रहेको बताइएको छ।
तर‚ अनुसन्धानमा देखिएका नाममध्ये सबैभन्दा चर्चित एमबाप्पे हुन्। ला पेरिजियनले उद्धृत गरेको एक न्यायिक स्रोतका अनुसार शंकास्पद व्यक्तिले ‘एक र्यापर र फुटबल खेलाडी एमबाप्पेलाई पनि निशाना बनाउन चाहेको दाबी गरिएको छ।













