काठमाडौं । नेपाली रनर रमन सुबेदीले राष्ट्रिय झण्डा सहित बर्लिन म्याराथन पुरा गरेका छन् । दौडमार्फत देश चिनाउने अभियान अन्तर्गत रमनले बर्लिन म्याराथनमा सहभागी भएका हुन् ।
बर्लिन म्याराथन विश्वकपको उत्कृष्ट ६ मध्य चौथों नम्बरको म्याराथन प्रतियोगिता हो । सेप्टेम्बर २४ मा सम्पन्न भएको बर्लिन म्याराथनले ४९ औं संस्करण पुरा गरेको छ । यसलाई प्लाटिनम स्तरको म्याराथनको रुपमा विश्वभर लिने गरिन्छ ।
विश्वभरका १ सय ५६ देशमा ४८ हजार धावक बर्लिन म्याराथनमा सहभागी भएका थिए । बर्लिन म्याराथनको यस संस्करणमा पुरुषतर्फ एलिउड किपचोगे र महिलातर्फ टाइगस्ट अस्सेफा विजयी बनेका थिए ।
रमन नेपालको राष्ट्रिय झण्डा सहित अन्तराष्ट्रिय म्याराथनका प्रतियोगितामा सहभागी हुँदै आएका छन् । बर्लिन म्याराथन पुरा गरेर उनी अहिले लिस्बोन म्याराथनमा सहभागी हुन पोर्चुगलमा छन् ।
रमन यसअघि भारत र युएईमा आयोजित म्याराथनका इभेन्टमा सहभागी हुदै आएका थिए । पोर्चुगलबाट फर्किएर उनले लण्डन म्याराथनको तयारीमा आफु जुट्ने बताए ।
‘दौड मेरो प्यासन हो । राष्ट्रिय झण्डा बोकेर अन्तराष्ट्रिय स्तरका यस्ता म्याराथनमा सहभागी हुदाँको मज्जानै बेग्लै हुन्छ ।’ उनले भने, ‘दौड स्वास्थ्यका लागि हो । यसले राष्ट्र चिनाउन नि काम गर्ने रहेछ ।’